सयपत्री फूलको माग बढ्यो

पाल्पा | कात्तिक ६, २०७९

सयपत्री फूलको माग बढ्यो

 

पाल्पा । तिहार नजिकिएसँगै सयपत्री फूलको माग बढ्न थालेको छ । व्यावसायिक उत्पादन अति न्यून र यसपटक स्थानीयस्तरमा फूल कम फुलेकाले सयपत्रीको माग धेरै बढेको व्यावसायी बताउँछन् । 


रामपुर नगरपालिका–४ देवीस्थानका युवा व्यवसायी दिलबहादुर थापालाई यतिबेला फूलमाला बिक्री गर्ने चटारो छ । तीन वर्षदेखि यस व्यवसाय थालनी गर्नुभएका थापाले अहिले तिहारलक्षित करिब साढे तीन रोपनी जग्गामा सयपत्री फूलखेती गर्नुभएको छ ।


“तिहारको चहलपहल सुरु हुन थालेपछि फूल खरिद गर्ने ग्राहकको घुइँचो बढेको छ, स्थानीयस्तरमै माग धेरै आएकाले बाहिर पठाएको छैन, फूल टिप्ने, माला तयार पारेर बिक्री गर्न भ्याइनभ्याई छ”, उहाँले भन्नुभयो । नेपालगञ्ज, बुटवल, तानसेन, पोखरालगायत विभिन्न ठाउँबाट माग धेरै आए पनि स्थानीयलाई पहिलो प्राथमिकता दिने उहाँले बताउनुभयो । यसपटक तिहारमा मात्रै करिब रु दुई लाख ५० हजार बराबरको फूल बिक्री गर्ने उहाँको अनुमान छ । 


प्रतिमाला रु एक सय, प्रतिकिलो फूल रु पाँच सयमा धमाधम घरबाटै बिक्री भइरहेको छ । पछिल्लो समय विभिन्न सङ्घसंस्था, विद्यालयमा दीपावलीको शुभकामना आदान–प्रदानजस्ता कार्यक्रम गर्ने लहरले तिहार सुरु हुनुअघिदेखि नै फूलमाला खरिद गर्ने ग्राहक बढेका छन् । 


गत वैशाख ३० मा भएको स्थानीय तहको निर्वाचनमा मात्रै करिब रु एक लाख ५० हजार बराबरको फूल बिक्री गर्नुभयो भने सङ्घ र प्रदेश तहको निर्वाचनको उम्मेदवारी दर्ता, प्रचार–प्रसार तथा स्थानीयस्तरमा हुने विभिन्न कार्यक्रममा गरी दसैँयता मात्रै करिब रु ५० हजार बराबरको फूलमाला बिक्री गरेको उहाँ बताउनुहुन्छ । 


“फूलखेती सुरु गरेपछि मेरो पहिचान नै फेरिएको छ, पहिला घरपरिवार, आफन्तबाहेक कसैले चिन्दैनथे”, उहाँले भन्नुभयो, “करिब एक दशक विदेश बसेर गाउँ फर्केरलगत्तै फूलखेती गरेपछि सबैले राम्रोसँग चिन्नुहुन्छ, समाजमा नाम र दाम दुवै पाएपछि धेरै सन्तुष्टि छु ।”


फूलको उत्पादन र बिक्री उत्साहजनक रहेकाले व्यावसायमा थप हौसला मिलेको छ । दिलबहादुरलाई यस व्यवसायमा श्रीमती सुकमाया थापाले सघाउँदै आउनुभएको छ । घर अगाडिको खेतभरि पहेँलै फुलेका फूलको दृश्यले घरको वातावरणमा सौन्दर्यता थपेको बताउनुहुन्छ, सुकमाया थापा ।


गाउँघरमा पछिल्लो समय सयपत्री फूल कमै पाइन्छ । स्थानीय जातका फूल मासिने क्रम बढेको छ । हाइब्रिड जातको फूल आउन थालेपछि घरका आँगन, डिल, करेसाबारीमा फुल्ने फूल हिजोआज खासै देखिँदैन । सयपत्री खेतीका अलवा लोपोन्मुख मखमली फूलको खेती गर्ने दिलबहादुरले योजना बनाउनुभएको छ । यसै वर्ष मखमली लगाउने सोच बनाए पनि बीउ समयमा उपलब्ध नहुँदा सयपत्रीमात्रै लगाउनुभएको छ । 


यहाँ ढकमक्क फुलेका फूलले सबैको मन लोभ्याएको छ । टिकटक बनाउने, फोटो खिच्ने, भिडियो बनाएर सामाजिक सञ्जालमा राख्न बालबालिकादेखि युवायुवती, वयस्क उमेरसम्मका पुग्ने गर्दछन् । गत भदौमा धुलिखेमा दुई दिन र तीन वर्षअघि बुटवलमा एकहप्ते पुष्प व्यवसायसम्बन्धी तालिम लिनुभएको छ । सो तालिमले व्यवसायमा धेरै सहज भएको उहाँले बताउनुभयो । 


फूल उत्पादन, गुणस्तर निकाल्ने तरिका, बजारीकरण, नयाँ प्रजातिका उत्पादनलगायतका सम्बन्धमा ज्ञान, सीप पाएपछि नयाँ ढङ्गबाट खेती गर्नुभएको छ । करिब पन्ध्र मुरी धानबाली फल्ने जग्गामा फूल लगाउन थालेपछि तेब्बर बढी आयस्रोत भित्रिएको छ । फूलखेतीबाट आफू मात्र नभई पाल्पा जिल्लालाई नै चिनाउने उहाँको सपना छ । एक वर्षमा तीन पटकसम्म यसको खेती गर्न सकिन्छ ।

चर्चित अभिनेता सुनिल थापाको निधन भएको छ।   उनको शनिबार बिहान काठमाडौं थापाथलिस्थित नर्भिक अस्पतालमा निधन भएको हो।   अचानक स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि अस्पताल भर्ना गरिएका थ...

थप पढ्नुहोस्

पोखरा:    बुद्धटोल युवा क्लबले राष्ट्रिय फुटसल खेलाडी सुबेत लामालाई सम्मान गरेको छ ।   पोखरा महानगरपालिका १ टुंडिखेलमा जारी ‘नवौं विरेन स्मृति एवम् १९ औं बिटी कप सेभेन ए सा...

थप पढ्नुहोस्

पोखरा:   सहारा क्लब पोखराको आयोजनामा हरेक वर्ष पोखरामा आयोजना हुँदै आएको आहा !रारा पोखरा गोल्ड कपको २५ औं वर्ष अर्थात् रजत वर्षको अवसरमा फोटो प्रदर्शनी गरिएको छ ।    नेपाल फोटो पत्र...

थप पढ्नुहोस्